-->

Friday, August 13, 2010

सभासद धम्कीबारे भारतीय दूतावाससँग माओवादीले माग्यो आधिकारिक धारणा

२२ साउन, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले आफ्ना सभासदलाई ज्यानमार्ने र अपहरण गर्ने धम्कीबारे नेपालस्थित भारतीय दूतावाससँग आधिकारिक धारणा माग गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय पदाधिकारी बैठकले धम्कीप्रति आपत्ति जनाउँदै यसबारे स्पष्ट धारणा माग गर्ने निर्णय गरेको हो ।

बैठक पछि पत्रकाहरुसँग कुरा गर्दै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भन्नुभयो ‘सभासद जस्ता मान्छेलाई दूतावासको कर्मचारीले ज्यानमार्ने र अपहरण गर्ने धम्की दिनुभनेको मुलुककै बेइज्जत भएको छ । यसबारे भारतीय दूतावसले स्पष्ट जवाफ दिनुपर्छ ।’

यस्तै बैठकले भातरतीय दूतावासका दास नाम गरेका काउन्सुलरले सभासदमाथि ज्यानमार्ने दिएको धम्कीबारे सरकारले आफ्नो धारण सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

शुक्रबारको संविधानसभाको बैठक पछि संविधानसभा भवन परिसरमा पत्रकाहरुसँग कुरा गर्दै माओवादीका सभासद रामकुमार शर्माले प्रधानमन्त्रीको निर्वाचनको विषयलाई लिएर आफूलाई भारतीय दूतावासका दास नामका कर्मचारीले ज्यानमार्ने र अपहरण गर्ने धम्की आएको बताउनुभएको थियो ।

यस्तै शनिबारको पदाधिकारी बैठकले संविधानसभामा सबै भन्दा ठूलो दलको हैसियतले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने पुरानै अडान दोहोर्याएको छ ।

देशलाई संकटको चक्रब्यूमा फस्न नदिन र अनिर्णयको बन्दीबाट मुक्त गराई सहमतिको आधारहरु तय गर्न सबै दलसँग छलफल गर्ने निर्णय माओवादीले गरेको छ ।

आगामी भदौ २ गते हुने पाँचौ चरणको निर्वाचनमा आफ्नो दलको पक्षमा बहुमत जुटाउन गम्भिर भएर दलहरुसँग छलफल अगाडि बढाउने निर्णय गरेको छ ।

यस्तै मनोनित गरिएको सभासद्को विषयमा देखिएको विवाद बारे पार्टीको गम्भिर ध्यानाकार्षण भएको जनाएको छ ।

रिक्त सभासद पदमा जिल्लाबाट सिफारिस गरिएका व्यक्तिलाई मनोनित नगरेको भन्दै धनुषा जिल्ला कार्यसमिति र मिथिला राज्यका पदाधिकारीहरुले हिजो सामुहिक राजिनामा दिएका थिए ।

Tuesday, August 10, 2010

thag-bahadur-thapa

भूटानी शरणार्थी शिबिर बेलडाँगी-१ का ठगबहादुर थापा आफ्नो छाप्रोबाट बाहिर ननिस्केको नौ महिना भयो । उनकै छिमेकी छाप्रोमा बसेका शान्तीराम आचार्यको अवस्था पनि उही हो । यी दुई परिवार भने घरेलु बन्धक झैं शिबिरमा बसिरहेका छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बेस क्याम्प बेलडाँगी-१ को हाता भित्रका दुइवटा छाप्रामा राखिएको छ । ५३ बर्षीय थापाको साता जनाको परिवार छ भने ३१ बर्षीय आचार्यको तीन जनाको परिवार छ । अलग अलग पृष्ठभूमिका थापा र आचार्यलाई एकै किसिमको धम्की बारम्बार आएपछि उनीहरुलाई प्रशासन र राष्ट्रसंघिय शरणार्थी उच्च आयोगले सुरक्षाका लागि प्रहरी हाताभित्र राख्ने निर्णय गरेका हुन् ।


‘कैयौं पटक ज्यान मार्ने धम्की आएपछि सुरक्षा मागेको हुँ’ - आफूलाई धम्की दिएका पर्चा देखाउदै थापाले भने ‘मेरो सुरक्षाका लागि प्रहरीले धेरै चनाखो हुँदा पनि मलाई धम्की आउने क्रम नरोकिएपछि यहाँ ल्याइएको हो ।’यसअघि बेलडाँगी दुईको सेक्टर जी दुई छाप्रा नम्बर ४२ मा बस्दै आएका थापालाई २४ नोभेम्बर २००९का दिनदेखि प्रहरी हातामा सारिएको हो ।थापाको साथमा श्रीमती दुई छोरा, दुई छोरी र एक नाती छन् ।
थापा सन् १९९४देखि भूटान पिपुल्स पाटी(बिपिपि) को साम्ड्रुप जोङखर जिल्लाका उपाध्यक्ष थिए ।उनी आधिकारिक रुपमा नभए पनि सर्बसाधारणले उनलाई पार्टीको केन्द्रीय सदस्यको उपाधी दिने गरेका थिए ।शरणार्थी भएर आएदेखि नै उनले राजनीतिमा लागेर स्वदेश फिर्ती आन्दोलनलाई सघाएका थिए ।यही क्रममा सन् १९९८मा भूटानमा छद्मभेषमा गएर करिब दुई महिनासम्म त्यहाँका स्थानियहरुसँग सहकार्य गरेर त्यहाँको शासक बिरुद्ध आन्दोलनको माहोल बनाउने काम आफूले गरेको थापा बताउँछन् ।
भूटान र नेपालका शिबिरहरुमा राजनीति गर्दै शरणागत जीबन बिताइरहेका थापाले त्यतिबेला देखि आफूलाई खतरा महशुस गर्न थाले जतिबेला यूएनएचसिआरले शरणार्थी समस्याको तत्कालिन समाधान भन्दै तेस्रो देश पुनर्स्थापना कार्यक्रम ल्यायो ।सन् २००७मा सुरु गरिएको सो कार्यक्रमको हल्ला आउने बित्तिकै शिबिरभित्र ठुलो द्वन्द्व, मारकाट, आन्दोलन, पारिवारिक फूट र अन्य आपराधिक समूहरुले चलखेल गर्ने मौका पाएका थिए ।
‘धेरैजसो नेताहरु शिबिर बाहिर बसेर तेस्रो देश पुनर्स्थापनाको बिरोध गर्थे तर म चाँहि शिबिरभित्रै बसेर यो अभियान ठिक होइन भन्थें’ थापा भन्छन् ‘जसले गर्दा मलाइ धम्क्याउन सजिलो हुन्थ्यो ।’

पुनर्स्थापना र स्वदेश फिर्ती पक्षधर बीच त्यसबेला शिबिरहरुमा दैनिक जसो झैं झगडा हुन्थे ।यसैक्रममा २०६६साल बैसाख ६गते बेलडाँगी एकका शान्तीराम नेपालको हत्या भयो । नेपालको हत्या भएको छ दिनपछि थापाको मोबाइलमा फोन आयो ।’परिवार सहित शिबिर छोडिनस् भने शान्तीराम नेपालको हालतमा पुग्दैछस् भनेर धम्क्याए’ आफूलाई पहिलोपटक आएको धम्की सम्झदै उनले भने ।त्यसैदिन उनले आफू असुरक्षित भएको भन्दै स्थानिय प्रहरीसँग सुरक्षा माग गरे । ‘त्यसपछि कहिले दमकमा डेरा गरी बसें, कहिले शिबिरमै आएर बसें ।’
सोही बर्षको साउन १५मा भूटान मानवअधिकारबादी संस्था (पिएफएचआरबि)का महासचिब डि पि काफ्लेले बिर्तामोडमा बोलाएर एक अपचिरतसँग भेट गराए ।’उनले आफूलाई भूकपा माओबादी (बिराट समूह)को कार्यकर्ता बताए । ‘भूकपा माओबादी बिकल्प समूहले शिबिरमा रहेका नेताहरुको सफाया गर्दैछ ।त्यसमा तपाइलाई अगस्त ६मा सिध्याउने योजना छ भनेर सुनाए’ थापाले भने ‘त्यसपछि मैले तुरुन्तै सिडीओकहाँ सुरक्षा मागें ।’
३१ जुलाइमा अर्को धम्की आयो । त्यसपछि अगस्त ६ तारिखको बिहानै उनलाई अर्को धम्की आयो । त्यसको दुई दिनपछि अर्थात अगस्त ८ तारिखमा बेलडाँगी ३ का पूर्व क्याम्प सचिब केबी खड्काको बेलडाँगीमा हत्या भयो ।
यो घटनाले शरणार्थीहरुमा थप त्रास उत्पन्न भयो । दमकमा रहेका बेला उनलाई अगस्त १४ तारिखमा भारतिय नम्बरको मोबाइलबाट फोन आयो आजको पर्चा हेर्नु भनेर । शिबिरभरी छरिएको पर्चामा थापा लगयात ८ जना शरणार्थी नेताको हत्या गर्ने सुचना थियो । पर्चामा जारी गर्ने ‘क्षेप्यास्त्र, क्षेत्रिय संयोजक ड्रुक लिओपार्ड’ भन्ने समूहले पर्चा फालेको थियो ।यो समूह बिकल्प पक्षको सेना भनेर प्रचार गरिएको थियो ।त्यसपछि अक्टोबर दुई तारिखमा बाँच्नका लागि दुईदिनको म्याद छ भनेर अर्को धम्की आयो ।’ ‘अक्टोबरको २४ तारिखमा तैंले शिबिर छाडिनस् अब हाम्रो भेट हुने भो भनेर अर्को म्यासेज आयो’ थापाले आफ्नो बृत्तान्त सुनाए ।

‘त्यसपछि भने अब बाँचिदैन भन्ने लागेर प्रशासन र यूएनएचसिआरमा गएर सबै कुरा राखें । शिबिर प्रशासन लगायतले मेरो अबस्था अध्ययन गरेर यहाँ ल्याएर राखेका छन्’ गालामा हात लगाएर थापाले भने ‘तर म बिना अपराधको कैदी भएर बसेको छु ।’ थापा र उनका परिवारलाई छाप्रा बाहिर निस्कन प्रहरीको आदेश लिनुपर्छ । उनका छोराछोरी डरले छ महिनाजति बिद्यालय पनि गएनन् । पछि यूएनले आफैं बिद्यालय लैजाने ल्याउने प्रबन्ध मिलाइदिएको छ ।नौ महिनाको बीचमा एकपटक मात्र उपचारका लागि प्रहरीका साथमा उनी दमकसम्म निस्किएका छन् ।उनका परिवार पनि प्रहरीको आदेशमा करिब दुईसय मिटर वरपर मात्र जाने गरेका छन् ।
आफू राजनैतिक रुपबाट असुरक्षित रहेको महसुस गरेपछि बिपिपिको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिए । सन् २००९मै दिएको राजिनामा सन् २०१०मा मात्र स्विकृत भएको छ ।’राजनीति र समाजसेवा मेरो जीबनका लागि अभाशाप भएछ’ थापा भन्छन् ।
त्यतिमात्र होइन थापाले अर्को पनि निर्णय गरेका छन् । दिलोज्यान दिएर भूटान फर्कनका लागि आन्दोलन गरिरहेका उनले अब तेस्रो देशमा पुनर्बास हुने निर्णय गरेका छन् । ‘कति दिनसम्म प्रहरी घेरामा बस्नु ?’ उनकी श्रीमती डम्बर कुमारीले भनिन् ‘मर्ने बाँच्ने निधो नभएपछि देश माया मारेर बिदेशतिरै जाने निर्णय गरेका हौं ।’
refugee-family

प्रहरी हातामा हुंदा पनि उनलाई धम्की आउन छोडेको छैन ।केही समयअघि एउटा फोन आयो ‘तँ मर्नु पर्थ्यो बाँचिस् ।’
थापाले पुनर्बासका लागि फाराम भरेको ९ महिना बित्यो । तर अहिलेसम्म प्रक्रिया अघि नबढेकोमा उनी थप चिन्तित छन् ।असुरक्षा र अफ्ठेरामा परेका शरणार्थीलाई तत्काल पुनर्बास गराइन्छ भन्ने सुनेका उनले आफ्नै हकमा भने त्यस्तो पाएनन् ।’तत्काल हुन्छ भन्थे, खै कहाँ भयो र । यो नर्कमा कहिले सम्म बस्नुपर्ने हो ठेगान भएन ।’ थापाले भने ।
बेलडाँगी ३का पूर्व सचिब सुवास आचार्यको राजनैतिक पृष्ठभूमी होइन ।उनी बिज्ञान बिषयमा स्नात्तकोत्तर हुन् ।बिना कारण उनलाई फोन, म्यासेज, पर्चा र घेराउ जस्ता घटना गराइए । जसबाट असुरक्षित रहेका आचार्य कैयौं समय लुकेर भागे बसे ।’म बाहिर बसे पनि परिवारलाई धम्की आउन थालेपछि यहाँ ल्याएर राखियो’ आचार्य भन्छन्’ बाढीले बगाएर ल्याएको फोहर सबै यही छाप्रामा पसेर हैरान बनाउँछ ।’ यूएनले यति अमानविय ढंगले राख्ला भन्ने उनले कल्पना गरेका थिएनन् ।
आचार्यले पनि तेस्रो देशका लागि फारम भरे ।तर अहिले सम्म प्रक्रियाले गति नलिएको देख्दा उनलाई अचम्म लागेको छ । ‘दुबैतिरबाट पिडित हुँदा मलाई जीबनमा के अपराध गरेछु भन्ने लागेको छ’ आचार्यले गुनासो गरे ।
बेलडाँगी एकका शरणार्थी समन्वय इकाइ (आरसियू). हर्क राईका अनुसार थापा र आचार्यको परिवारको तेस्रो देश प्रकृया तत्काल अघि बढाउनु पर्ने देखिन्छ ।’ती दुई परिवारको अबस्था देख्दा युएनदेखि लाज लाग्छ, उनीहरुको माया’ राईले भने ।
यी दुई परिवार जस्तै मोरङको शनिश्चरे शिबिरमा पनि एक परिवार सशस्त्र प्रहरीकै हातामा राखिएको छ ।

सशस्त्र प्रहरी श्रोतका अनुसार पिडित शरणार्थीहरुले आफूहरु अत्यन्तै असुरक्षित रहेको भन्दै मानसिक तनाबमा परेपछि आफनै हाताभित्र युएनले निर्माण गरेका छाप्रामा ल्याएर राखिएको हो ।’यहाँ हामीले राखेको होइन प्रशासन र युएनले राखेका हुन् । हामीले त सुरक्षा मात्र दिने हो’ सशस्त्र प्रहरी बल पाथिभरा गणका एसपि गणेश ठाडा मगरले भने ।

चेतन अधिकारी
(कान्तिपुरबाट



३७ जना भुटानी शरणार्थी हिजो पुनर्वास कार्यक्रम अर्न्तगत बेलायत प्रस्थान गरेका छन् ।
पुनर्वासका लागि बेलायत सरकारले प्रतिवद्धता जनाए बमोजिम उनीहरु बेलायततर्फ लागेका हुन् ।
शरणार्थीको पुनर्वासको बिषयमा हिजै अन्तराष्ट्रिय आप्रवासी संगठन आईओएमको काठमाण्डौस्थित ट्रान्जिट सेण्टरको निरीक्षण गर्दै बेलायती चार्ज डे अफेयर्स सोफिया किङ्गसले अन्य देशबाट आएका मानिसहरुलाई बेलायतले स्वागत गरेको लामो इतिहास रहेको बताउनु भयो । उहाँले वर्षौंको अनिश्चिततापछि नयाँ जीवन शुरु गर्न पाउनु शरणार्थीका लागि उत्साहप्रद भएको चर्चा गर्नुभयो ।

यो परियोजनामा सहभागी हुन पाउँदा जो कोहीलाई अत्यन्तै सन्तोषको अनुभूति हुने बताउँदै आईओएमका नेपाल मिसन प्रमुख सरत दाशले शरणार्थीहरुको जीवनमा सहयोग गरेकोमा बेलायतलाई धन्यवाद दिनुभयो ।
प्रस्ताव अघि सारिएको करिब आठ महिनापछि बेलायतले शरणार्थीको पहिलो टोली बेलायत लगेको हो । शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग (युनएचसीआर) का नेपालस्थित प्रतिनिधि स्टेफन ज्याकमेटले अन्य देशहरुले समेत भुटानका शरणार्थीहरुलाई पुनर्वासका लागि विचार गर्ने विश्वास रहेको बताउनु भयो ।
नोभेम्बर २००७ यता ३४ हजार ५०० भन्दा बढि शरणार्थी संयुक्त राज्य अमेरिका र अन्य राष्ट्रमा गईसकेका छन् । ४० हजार भन्दा बढि शरणार्थीहरु यसै वर्षको अन्त्यसम्म पुनर्वासमा गइसक्ने अपेक्षा गरिएको छ ।

संयुक्त प्रेस वक्तव्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कुमार

थप जानकारी कान्तिपुरबाट साभार गरिएको यो सामग्रीबाट -
अन्तर्राष्ट्रिय आप्रवास संगठन (आईओएम) को महाराजगन्जस्थित कार्यालयमा काशीनाथ पोखरेल सोमबार बिहान पत्रकारबाट घेरिएका थिए । झापाको खुदुनाबारी शिविरबाट चार दिनअघि ल्याइएका उनी श्रीमती पूर्णदेवी र छोरा प्रतीकसहित तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत सोमबार राति ११ बजे काठमाडौंबाट बेलायत उड्नु थियो । त्यसअघि बेलायती दूतावास, राष्ट्रसंघीय शरणार्थी नियोग (यूएनएचसीआर) र आईओएमले पत्रकार सम्मेलनमा उनलाई सामेल गराएका थिए ।
खुदुनाबारीस्थित न्यु होप इन्टरनेसन स्कुलका पूर्वशिक्षक पोखरेलले बेलायत जान लाग्दा आफू दुःखी र खुसी दुवै भएको कान्तिपुरलाई बताए । परिवार, राष्ट्र गुमाएर अपरिचित मुलुक जानुपरेकाले दुःखी भएको उनको भनाइ थियो । ‘तर शरणार्थी भएर दुःखमा गुजारा चलाउनुभन्दा विकसित देशमा राम्रो हुन्छ भन्ने लागको छ,’ उनले खुसी हुनुको कारण खुलाए । तीन महिनाअघि उनले तेस्रो देशका लागि आवेदन दिँदा उनलाई बेलायत जान्छु भन्ने थाहा थिएन । ‘मलाई त नर्वे जाने इच्छा थियो,’ उनले भने । त्यस युरोपेली देशमा उनका माबली दाइ पुगेका छन् जसले त्यहाँको व्यवस्था राम्रो भएको उनलाई बताएका थिए ।
बेलायत पुगेर काम पाउनेमा पोखरेल आशावादी हुनुका पछाडि उनको अनुभव छ । १७ महिनासम्म कम्प्युटर इन्स्िटच्युटमा प्रशिक्षक रहेका उनले स्कुलमा समेत स्वास्थ्य र जनसंख्यासहित कम्प्युटर पढाउँथे । ‘मेरो यो सीप बेलायतमा काम लाग्ला भन्ने ठानेको छु,’ उक्त घमाइलो बिहान चौरमा बसेका उनले भने ।
पोखरेल बुधबार बेलायत उडेका ३७ भुटानी शरणार्थीमध्ये एक हुन् । झन्डै तीन वर्षअघिदेखि थालिएको तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत शरणार्थीलाई आफ्नो देशमा बसोबास गराउने बेलायत पछिल्लो राष्ट्र हो । उसले सन् २०१० भित्रमा एक सय जना भुटानी शरणार्थी आफ्नो देशमा पुनर्वास गराउँदैछ । बेलायतको ‘गेटवे रिसेटलमेन्ट’ कार्यक्रमअन्तर्गत बर्सेनि विश्वभरिबाट पाँच सय जना शरणार्थीलाई बेलायत सरकारले पुनर्वास गर्ने बेलायतकी कार्यवाहक राजदूत सोफिया विलिट्स-किङले बताइन् ।



बेलायत सरकारले शरणार्थीहरू आफ्नो खुट्टामा उभिने नहुन्जेल सहयोग जारी राख्ने विलिट्स-किङले बताइन् । पहिलो चरणमा गएका ती दस शरणार्थी परिवार उत्तर-पश्चिम बेलायतको ग्रेटर मेन्चेस्टरस्थित बोल्टन भन्ने सहरमा बस्नेछन् । बेलायतसँग अंग्रेजी बोल्न नजान्ने आप्रवासीलाई बसोबास गराएको लामो अनुभव भएको बताउँदै उनले भुटानी शरणार्थीलाई स्थानीय जनजीवनमा घुलमिल गराउनु पहिलो प्राथमिकता हुने बताइन् । ‘उनीहरूलाई सबै सुविधा सम्पन्न अपार्टमेन्टमा बस्ने प्रबन्ध मिलाइन्छ, उनीहरूलाई सबै आधारभूत सुविधा उपलब्ध हुनेछ,’ विलिट्स-किङले भनिन्, ‘हामीलाई आशा छ उनीहरूका बच्चाबच्चीको भविष्य राम्रो हुनेछ ।’
यूएनएचसीआरका नेपालस्थित प्रतिनिधि स्टेफन ज्याकमेटले बेलायत सरकारसमक्ष पुनर्वासका लागि प्रस्ताव अघि सारिएको आठ महिनामै पहिलो समूह प्रस्थान गर्न लागेको बताए । उनले भने, ‘यसको प्रचारप्रसारले भुटान सरकारलाई शरणार्थीको घरफिर्तीका लागि मनाउन सक्षम हुनेछौं भन्ने आशा छ ।’
तेस्रो देश पुनर्वासअन्तर्गत हालसम्म ३४ हजार ५ सय भुटानी शरणार्थीको पुनर्वास भइसकेको छ जसअन्तर्गत अमेरिकामा २९ हजार ४ सय ९६, क्यानडामा १ हजार ८ सय ७७, अस्ट्रेलियामा १ हजार ७ सय ८७, न्युजिल्यान्डमा ४ सय ६१, नर्वेमा ३ सय ३५, डेनमार्कमा ३ सय २६ र नेदरल्यान्डमा २ सय ४४ छन् । पूर्वनेपालको झापा र मोरङका सात शिविरमा रहेका कुल १ लाख ७ हजार शरणार्थीमध्ये सन् २०१० को अन्त्यसम्ममा ४० हजारको पुनर्वास हुने वक्तव्यमा जनाइएको छ