-->

Tuesday, August 10, 2010



३७ जना भुटानी शरणार्थी हिजो पुनर्वास कार्यक्रम अर्न्तगत बेलायत प्रस्थान गरेका छन् ।
पुनर्वासका लागि बेलायत सरकारले प्रतिवद्धता जनाए बमोजिम उनीहरु बेलायततर्फ लागेका हुन् ।
शरणार्थीको पुनर्वासको बिषयमा हिजै अन्तराष्ट्रिय आप्रवासी संगठन आईओएमको काठमाण्डौस्थित ट्रान्जिट सेण्टरको निरीक्षण गर्दै बेलायती चार्ज डे अफेयर्स सोफिया किङ्गसले अन्य देशबाट आएका मानिसहरुलाई बेलायतले स्वागत गरेको लामो इतिहास रहेको बताउनु भयो । उहाँले वर्षौंको अनिश्चिततापछि नयाँ जीवन शुरु गर्न पाउनु शरणार्थीका लागि उत्साहप्रद भएको चर्चा गर्नुभयो ।

यो परियोजनामा सहभागी हुन पाउँदा जो कोहीलाई अत्यन्तै सन्तोषको अनुभूति हुने बताउँदै आईओएमका नेपाल मिसन प्रमुख सरत दाशले शरणार्थीहरुको जीवनमा सहयोग गरेकोमा बेलायतलाई धन्यवाद दिनुभयो ।
प्रस्ताव अघि सारिएको करिब आठ महिनापछि बेलायतले शरणार्थीको पहिलो टोली बेलायत लगेको हो । शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग (युनएचसीआर) का नेपालस्थित प्रतिनिधि स्टेफन ज्याकमेटले अन्य देशहरुले समेत भुटानका शरणार्थीहरुलाई पुनर्वासका लागि विचार गर्ने विश्वास रहेको बताउनु भयो ।
नोभेम्बर २००७ यता ३४ हजार ५०० भन्दा बढि शरणार्थी संयुक्त राज्य अमेरिका र अन्य राष्ट्रमा गईसकेका छन् । ४० हजार भन्दा बढि शरणार्थीहरु यसै वर्षको अन्त्यसम्म पुनर्वासमा गइसक्ने अपेक्षा गरिएको छ ।

संयुक्त प्रेस वक्तव्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कुमार

थप जानकारी कान्तिपुरबाट साभार गरिएको यो सामग्रीबाट -
अन्तर्राष्ट्रिय आप्रवास संगठन (आईओएम) को महाराजगन्जस्थित कार्यालयमा काशीनाथ पोखरेल सोमबार बिहान पत्रकारबाट घेरिएका थिए । झापाको खुदुनाबारी शिविरबाट चार दिनअघि ल्याइएका उनी श्रीमती पूर्णदेवी र छोरा प्रतीकसहित तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत सोमबार राति ११ बजे काठमाडौंबाट बेलायत उड्नु थियो । त्यसअघि बेलायती दूतावास, राष्ट्रसंघीय शरणार्थी नियोग (यूएनएचसीआर) र आईओएमले पत्रकार सम्मेलनमा उनलाई सामेल गराएका थिए ।
खुदुनाबारीस्थित न्यु होप इन्टरनेसन स्कुलका पूर्वशिक्षक पोखरेलले बेलायत जान लाग्दा आफू दुःखी र खुसी दुवै भएको कान्तिपुरलाई बताए । परिवार, राष्ट्र गुमाएर अपरिचित मुलुक जानुपरेकाले दुःखी भएको उनको भनाइ थियो । ‘तर शरणार्थी भएर दुःखमा गुजारा चलाउनुभन्दा विकसित देशमा राम्रो हुन्छ भन्ने लागको छ,’ उनले खुसी हुनुको कारण खुलाए । तीन महिनाअघि उनले तेस्रो देशका लागि आवेदन दिँदा उनलाई बेलायत जान्छु भन्ने थाहा थिएन । ‘मलाई त नर्वे जाने इच्छा थियो,’ उनले भने । त्यस युरोपेली देशमा उनका माबली दाइ पुगेका छन् जसले त्यहाँको व्यवस्था राम्रो भएको उनलाई बताएका थिए ।
बेलायत पुगेर काम पाउनेमा पोखरेल आशावादी हुनुका पछाडि उनको अनुभव छ । १७ महिनासम्म कम्प्युटर इन्स्िटच्युटमा प्रशिक्षक रहेका उनले स्कुलमा समेत स्वास्थ्य र जनसंख्यासहित कम्प्युटर पढाउँथे । ‘मेरो यो सीप बेलायतमा काम लाग्ला भन्ने ठानेको छु,’ उक्त घमाइलो बिहान चौरमा बसेका उनले भने ।
पोखरेल बुधबार बेलायत उडेका ३७ भुटानी शरणार्थीमध्ये एक हुन् । झन्डै तीन वर्षअघिदेखि थालिएको तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत शरणार्थीलाई आफ्नो देशमा बसोबास गराउने बेलायत पछिल्लो राष्ट्र हो । उसले सन् २०१० भित्रमा एक सय जना भुटानी शरणार्थी आफ्नो देशमा पुनर्वास गराउँदैछ । बेलायतको ‘गेटवे रिसेटलमेन्ट’ कार्यक्रमअन्तर्गत बर्सेनि विश्वभरिबाट पाँच सय जना शरणार्थीलाई बेलायत सरकारले पुनर्वास गर्ने बेलायतकी कार्यवाहक राजदूत सोफिया विलिट्स-किङले बताइन् ।



बेलायत सरकारले शरणार्थीहरू आफ्नो खुट्टामा उभिने नहुन्जेल सहयोग जारी राख्ने विलिट्स-किङले बताइन् । पहिलो चरणमा गएका ती दस शरणार्थी परिवार उत्तर-पश्चिम बेलायतको ग्रेटर मेन्चेस्टरस्थित बोल्टन भन्ने सहरमा बस्नेछन् । बेलायतसँग अंग्रेजी बोल्न नजान्ने आप्रवासीलाई बसोबास गराएको लामो अनुभव भएको बताउँदै उनले भुटानी शरणार्थीलाई स्थानीय जनजीवनमा घुलमिल गराउनु पहिलो प्राथमिकता हुने बताइन् । ‘उनीहरूलाई सबै सुविधा सम्पन्न अपार्टमेन्टमा बस्ने प्रबन्ध मिलाइन्छ, उनीहरूलाई सबै आधारभूत सुविधा उपलब्ध हुनेछ,’ विलिट्स-किङले भनिन्, ‘हामीलाई आशा छ उनीहरूका बच्चाबच्चीको भविष्य राम्रो हुनेछ ।’
यूएनएचसीआरका नेपालस्थित प्रतिनिधि स्टेफन ज्याकमेटले बेलायत सरकारसमक्ष पुनर्वासका लागि प्रस्ताव अघि सारिएको आठ महिनामै पहिलो समूह प्रस्थान गर्न लागेको बताए । उनले भने, ‘यसको प्रचारप्रसारले भुटान सरकारलाई शरणार्थीको घरफिर्तीका लागि मनाउन सक्षम हुनेछौं भन्ने आशा छ ।’
तेस्रो देश पुनर्वासअन्तर्गत हालसम्म ३४ हजार ५ सय भुटानी शरणार्थीको पुनर्वास भइसकेको छ जसअन्तर्गत अमेरिकामा २९ हजार ४ सय ९६, क्यानडामा १ हजार ८ सय ७७, अस्ट्रेलियामा १ हजार ७ सय ८७, न्युजिल्यान्डमा ४ सय ६१, नर्वेमा ३ सय ३५, डेनमार्कमा ३ सय २६ र नेदरल्यान्डमा २ सय ४४ छन् । पूर्वनेपालको झापा र मोरङका सात शिविरमा रहेका कुल १ लाख ७ हजार शरणार्थीमध्ये सन् २०१० को अन्त्यसम्ममा ४० हजारको पुनर्वास हुने वक्तव्यमा जनाइएको छ

No comments:

Post a Comment